पासपोर्ट र टिनटिन

‘३ दिनेहरू यो कोठामा जानुस्,’ बाहिर बसेको प्रहरीले कोठातिर देखाउँदै भन्यो ।

सबैजना भित्र छिर्‌यौ । ढोकासम्मै लाइन रहेछ । छिर्नेबित्तिकै यसो आँखा डुलाएँ । लहरै राखिएका चारओटा कम्प्युटरपछाडि पासपोर्ट बनाउन आएका सेवाग्राहीहरू थिए । अगाडि भने पासपोर्टको विवरण भर्न र फोटो खिच्न राहदानी विभागका अधिकृतहरू थिए । सबैजना महिला ! हेर्दा उमेरले पनि भर्खरकै । सेतो सर्ट, निलो प्यान्ट र निलै कोटमा सारै स्मार्ट देखिएका ।

अलि जवान हुँदा मलाई बैङ्क जाँदा बैङ्कर महिलाहरू खुब राम्रो लाग्ने, अस्पताल जाँदा नर्सहरू, प्लेन चढ्दा एयरहोस्टेसहरू … । तर महिला निजामती कर्मचारीप्रति भने खासै वास्ता गरेको थिइन । हुन त निजामती सेवामा महिला कर्मचारीको सङ्ख्या नै कति थियो र ? फेरि यहाँ महिलाहरूको सङ्ख्या बढी हुनु परराष्ट्र सेवामा उनीहरूको आकर्षण बढी भएर पो हो कि ?

‘अर्को आउनुस् त,’ खाली भएको कम्प्युटरमा बस्न महिला कर्मचारीले बोलाइन् । उनीहरूले दिएको सेवा छिटो र छरितो भएकोले तुरून्तै पालो आयो ।

‘खै नागरिकता र फोटोकपी दिनुस् त,’ ३ नम्बर कम्प्युटरमा रहेकी कर्मचारीले भनिन् । ‘पुरानो पासपोर्ट के भो ?’

‘पाना सकिएर नयाँ बनाउन लागेको,’ मैले जवाफ दिए ।

‘ओहो, त्यो कानको टप निकाल्नुस् त ।’

‘यो त फोटोमा के देखिएला र, फुकाल्नु पर्छ र ?’ मैले गाह्रो मान्दै सोधेँ ।

‘महिलाहरूलाई त छुट छैन, ‘का तपाईले लाउन मिल्छ र । वहाँहरूलाई त फुकाल्न लाउँदै छौं,’ छेउमा उभिएर सकि नसकी कानको मुन्द्री फुकाल्दै गरेका दुई महिलालाई देखाउँदै उनले भनिन् ।

मैले उनको आदेशअनुसार गरे । धन्न देब्रे कानमा लगाएको कुमाले एक महिनाअघि नै फुकालेको थिए । नत्र ती महिलाहरूलाई जस्तै कुमाले फुकाल्न मलाई नि काल हुने रैछ । मेरो कुमाले पनि ती महिलाहरूले लगाएका मुन्द्री जस्तै घुमाएर बेरिएकोले फुकाल्न सजिलो थिएन । टप भने सजिलै फुकालेर म फोटो खिचाउन तयार भए ।

अलि नजिक आउन भन्दै उनले मेरो फोटो खिचिन् । ‘तपाईको कपाल ठाडो भयो, तल पार्नु त,’ फोटो हेर्दै उनले अर्को आदेश दिइन् ।

मैले कपाललाई तालुमा सम्याउँदै उनलाई ‘भयो’ भनेर सोधेँ ।

‘अहिले पनि ठाडै छ,’ भनेर उनले फेरि अर्को फोटो खिचिन् ।

‘हेर्नुस् न वहाँको कपाल पुरै ठाडो आयो के गर्ने होला,’ उनले छेउकी कर्मचारीलाई सोधिन् ।

‘फोटो खिच्नु अगाडि नै बाहिर पानी लाएर सम्याउनु पर्नै,’ उनले सल्लाह दिइन् ।

‘मोटरसाइकलमा आउँदा हेल्मेट लगाएकोले यस्तो भयो । हेर्नुस् न के गर्ने,’ मैले स्पष्टिकरण दिए । ‘मिलाएर खिचिदिनु न । ३ नम्बर कम्प्युटरमा राम्रो फोटो निकाल्नुहुन्छ भन्दै थिए बाहिर,’ मैले उनलाई फुर्‌क्याउन खोजेँ ।

‘कहाँ मिलाउन मिल्छ र यसमा । ल अब यै राख्ने, मिलेन भने तीन दिनपछि फेरि अर्को खिच्नुपर्छ,’ उनले राहदानी सङ्कलन शाखामा तीन दिनपछि कार्यालय समयमा आउन भनिन् ।

जरूरी कामको लागि तत्काल पासपोर्ट आवश्यक परेकोले निवेदनका लागि सबै प्रकिया त पुरा गरियो । तर फोटोले गर्दा निर्धारित समयमा पासपोर्ट आउने निश्चित भएन ।

तीन दिनपछि राहदानी सङ्कलन शाखामा गए । रसिद बझाएपछि केही बेरमा त्यहाँका कर्मचारीले मेरो नयाँ पासपोर्ट ल्याइदिए । पासपोर्ट यसो पल्टाएर हेरेँ र खुसी हुँदै फर्किए ।

फर्किने बाटोमा एक मित्रको घर पर्छ । उनलाई फोन गरी चिया गफको लागि बोलाए ।

‘खै खै, तेरो नयाँ पासपोर्ट हेरम् त,’ मित्रले चियाको चुस्की लिँदै भने ।

ब्यागबाट पासपोर्ट झिक्दै मित्रलाई देखाए ।

‘लौ फोटो त टिनटिनको जस्तै आएछ ! ‘

Image may contain: Neer Lama, closeup, possible text that says 'राहदानी/ Passport'No photo description available.

About Neer

Traveling, trekking, reading, watching movies are what I mostly do. Looking forward to add writing to this list!
This entry was posted in encounters, Experiences, Story and tagged . Bookmark the permalink.

Leave a comment