टेन्सबर्ग कथा

बख्खुमा चिटिक्क सजिएकी उनी छेउबाट जाँदै थिइन् । मैले रोकेर पत्रिकाको लागि आग्रह गरे । एकैछिनमा उनी पत्रिका लिएर आइन् । छेउकै सिटहरू खालि देखेर मैले अगाडि बस्न हुन्छ भनेर सोधे । उनले सहमतिमा टाउको हल्लाइन् ।

बिहीबार बिहान नेपाल एयरलाइन्सको दिल्ली-काठमाडौ आरए २०६ फ्लाइट निश्चित समयभन्दा अघि नै उडानका लागि रनवेमा तयार थियो । तथापि एयर ट्राफिकले गर्दा १० मिनेटभन्दा बढी कुर्नुपर्यो । यसै समयमा एयर होस्टेसलाई मैले पत्रिकाको लागि अनुरोध गरे ।

विमान आकाशमा स्थिर भएपछि एयर होस्टेसले खाना बाँड्न सुरु गरिन् । म भने बियर पिउने कि नपिउने भन्नेमा अलमल थिए । प्राय: दिउँसोको उडानमा म बियर पिउन रु‍चाउँछु । अघिल्लो रात राम्रोसँग निद्रा नलागेकोले नपिउ भन्ने लाग्यो ।

खानासँगै पेय पदार्थ सर्भ गर्ने ट्रेमा मलाई मनपर्ने कार्ल्सबर्ग बियर देखेर मेरो निर्णय बदलिन एक सेकेन्ड पनि लागेन । मैले तुरुन्त बियर मागे । खाना खानुअघि बियर गिलासमा खन्याए । एक चुस्की लिए, आँत र आन्द्रा दुवै भिजायो ।

तर कार्ल्सबर्ग बियरको भन्दा फरक स्वाद भएपछि म बियर क्यान नियाल्न थाले । उस्तै रङ्ग, डिजाइनको क्यान बुटवलमा प्याकेजिङ गरिएको टेन्सबर्ग बियर पो रहेछ ! त्यो देखेर कार्ल्सबर्गकै नक्कल गरी बनाइएकोमा कुनै शङ्का रहेन । अलि कडा लागे पनि खानासँगै बियर सकाए ।

खानपिनपछि पत्रिका पढ्न निरन्तरता दिए । पत्रिका पढी सिध्याएपछि नेपाल एयरलाइन्सको इन-फ्लाइट म्यागेजिन शाङ्ग्रिला पल्टाउन थाले । त्यसमा रहेको क्रसवर्ड पज्जल भर्नलाई मलाई खुब मनपर्छ । १५ वटा शब्दमध्ये १३ वटा सजिलै भरे ।

बाँकी दुई शब्द भने जति प्रयास गरे पनि भर्न सकिन । सोच्दै गर्दा कतिबेला भुसुक्कै भए‌छु । दुई घण्टाको उडानमा दुई ओटा बियर खाए पनि ननिदाउने मलाई आज एउटै टेन्सबर्गले टेन्स बनाएछ ।

बिउझिँदा जहाज अवतरण भएर यात्रुहरू उत्रिन सुरु गरिसकेछन् । आफू बसेको लहरमा अरू यात्री नहुँदा झस्काउने पनि कोही थिएन । हतार हतार उत्रिन तयारी गर्दै गम्न थाले ।

बसको यात्रा भए त आफ्नो गन्तव्य छुटेर अघि नै पुगि सक्या हुन्थे होला । फेरि अर्को मनले सोच्न थाले – बसमा कसले सित्तैमा बियर खुवाउँथ्यो र ! तर उत्रिदैँ गर्दा पज्जलमा दुई ओटा शब्द भर्न नसकेकोमा भने थकथकी भइरह्यो ।

Advertisements
Posted in Experiences, Story | Tagged | Leave a comment

ए गाँठे !

सन् २०१४ मा शाहरुख खान अभिनित चलचित्र ‘ह्यापी न्यू यर’ प्रदर्शन भयो । चलचित्र विभिन्न कारणले चर्चामा रह्यो । दिपावलीमा रिलिज भएको चलचित्रमा दमदार कलाकारहरू त थिए नै, चलचित्र शाहरुख खानकै नामले मात्रै पनि हिट हुने निश्चित थियो । तर मेरो ध्यान भने चलचित्रको अर्को रमाइलो पक्षले तानेको थियो । चलचित्रका लागि शाहरूखले पेटमा बनाएको गाँठैगाँठोसहितको सुगठित शरीर फोटोसपबाट बनाइएको भनेपछि त्यसबारे बहसहरू भए ।BodyGoal

भलै त्यो बजारिया चलचित्र हेर्ने रहर मलाई कहिले भएन, तर त्यस्तै शरीर मैले पनि बनाउन सक्छु कि भन्ने महत्वकांक्षा भने पलाउन थालिसकेको थियो । व्यावहारिक भएर सोच्दा भने पुक्क उठेको पेट मात्र घटाउन पाए पनि ठूलै उपलब्धि हुने ज्ञान भो । खेलकुद, व्यायामहरूमा सानैदेखि रूचि भए पनि पछिल्लो समय कामको व्यस्तता, घर व्यवहारमा अल्झिँदा त्यसका लागि पर्याप्त समय भएन । लगभग एक दशकको व्यावसायिक अनुभवपछि एकोहोरोपनबाट छुट्कारा लिन पनि विश्राम लिने निर्णय गत वर्ष लिए । त्यसपछि भने आफ्नो रूचिका विषयहरू अध्ययन, चलचित्र, व्यायामहरूमा समय दिन थाले ।

यसै क्रममा घर नजिकै रहेको हेल्थ क्लब जान थाले । क्लबका गुरुको नियमित निगरानीमा सामान्य व्यायामहरूबाट सुरुवात गरे । सुरुमा सजिलो भने भएन । कुर्सीमा ठस्स बसेर काम गर्ने बानी भएको शरीरलाई उछलकुद गराएर पसिना निकाल्दा अवश्य गाह्रो हुन्छ । बिहानै व्यायाम गरेपछि शरीर दिउँसभर चङ्गा, स्फूर्त हुने र विचारहरू पनि सकारात्मक आउने अनुभव हुने थालेको थियो । यसै क्रममा पुरानो रोगले पुन: च्यापेपछि दिल्लीमा उपचारको क्रममा तीन महिना बिताउनु पर्‌यो । व्यायामलाई आफ्नो बानी बनाइसकेकोले सो अवधिमा साह्रै सकसक भयो ।

नेपाल फर्किने बित्तिकै व्यायामलाई दैनिकी बनाउन थाले । रोगले मेरो शरीरलाई कमजोर बनाए पनि आफ्नो आत्मबललाई भने मैले कमजोर बनाउन दिइन । म थप आत्मविश्वाससहित पुनः व्यायाम गर्न थालेको छु । गत वर्ष ७० किलो रहेको मेरो हाल वजन ६० किलोभन्दा कम छ । पेट मात्र घटाउने भनेर म व्यायाम गर्न लागेको हुँ । हाल आएर पेट घटेर गाँठाहरूसमेत देखिन थालेका छन् । शरीरमा आँफै निक्लेका गाँठाहरू हानीकारक हुन्छन् तर आँफैले निकालेका गाँठाहरू भने लाभदायक नै हुन्छन् है । दुवैको अनुभव मैले लिइसकेकोछु, यसमा आँखा चिम्लेर मलाई पत्याउनु भए हुन्छ ।

शरीरलाई सुगठित बनाएर गाठाहरू निकाल्ने अभियानमा छु भन्दा साथीहरूले मजाक उडाएको पनि हिजै मात्र हो । जीवनकालका अनुभव/उपलब्धि (Bucket list) मा शरीरलाई सुगठित बनाउने भनी मैले राखेको थिए । यो प्राप्त हुने क्रममा रहेकोमा म साह्रै उत्साहित छु । सकिन्न कि भन्ने धेरै पटक लागे पनि जिमखानामा अन्य साथीभाइहरूले गरेको मेहनत देखेर आफैँलाई प्रेरित गर्थे । अहिले मेरो मेहनतले अरू पनि प्रेरित होस् भनेर पनि व्यायाम गर्ने गर्छु ।

शरीरलाई स्वस्थ राख्न प्रशस्त पसिना बगाउन भने तयार हुनुपर्छ । पसिनामार्फत नै शरीरका विकारहरू पनि निस्कने हुन् । व्यायाम गर्न शुरु गर्नअघि भने आफ्नो उद्देश्य सुनिश्चित गर्नुपर्छ । स्वस्थ र स्फूर्त रहने हो भने बिहान मर्निङ वक, पौडी खेल्ने, दौडिने, साइकल चलाउने गर्दा पनि हुन्छ । त्यो भन्दा बढी शरीर सुगठित बनाउने हो भने कुनै जिमखानाको सदस्य भएर गुरुको नियमित निगरानीमा व्यायाम गर्नुपर्छ । समय मिल्दैन भनि बसिराख्नु भयो भने तपाईले रोगलाई निम्त्याइ राख्नुभएको छ । मलाई रोगले गाँज्नुको कारण मेरो अस्वस्थ जीवन शैली पनि हो भन्ने मलाई लाग्छ । तर यो अहिले परिवर्तन भएको छ (फोटोमा पनि तपाईहरू देख्न सक्नुहुन्छ) ।

म चारपटक कडा रोगको उपचार व्यहोरीसकेको व्यक्तिले त गर्न सक्नेरहेछु, तपाईहरूले त सहजै सक्नुहुन्छ । आफ्नो शरीरलाई कस्तो बनाउने भन्ने दृढ आत्मबल भने चाहिन्छ । व्यायामलाई बानी बनाउनुहोस् । शरीरको आफूमाथि नियन्त्रण भन्दा पनि शरीरमाथि आफ्नो नियन्त्रण हुनुपर्दछ भन्ने कुरामा स्पष्ट हुनुहोस् । स्वास्थ्य नै धन हो भन्छन् । यो धन त कसैले लुट्ने, चोर्ने डर पनि हुँदैन । त्यसैले व्यायाम गर्नुहोस्, स्वस्थ रहनुहोस् ।

Posted in Experiences | Tagged , , , | Leave a comment

“यो कोटा सिस्टमको अन्त्य कहिले हुन्छ ?”

राजधानीमा आयोजित समावेशन (Inclusion) सम्बन्धी कार्यक्रममा एक सहभागीले सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ललाई सोधेको प्रश्न हो यो । न्यायाधीश मल्ल वक्ता रहेको सो कार्यक्रममा आज मलाई पनि सहभागी हुने अवसर मिलेको थियो । हालको संविधानमा रहेका समानुपातिक समावेशनसम्बन्धी प्रावधानहरू र त्यसको पृष्ठभूमिबारे उनले चर्चा गरेकी थिइन् । उनले आफ्ना भनाइ राखी सकेपछि उद्घोषकले सवाल जवाफको सत्र सुरु भएको जानकारी दिए ।

मल्ललाई सोधिएको विभिन्न पाँच प्रश्नहरूमध्ये यो एक थियो । सहभागी युवा मित्रले प्रश्न राख्नेबित्तिकै उनको समर्थनमा केही सहभागीले ताली बजाएर साथ दिए । उनको प्रश्नले मल्लको अनुहारमा गम्भीरपन ल्यायो भने मलाई पनि असजिलो महसुस भयो । ती मित्र एक जनाको मात्र प्रश्न नभई त्यसले नेपालको एक ठूलो समूहको पनि जिज्ञासाको पनि प्रतिनिधित्व गर्छ ।

हामीले पनि छलफल, सामाजिक सञ्जाल र विभिन्न फोरमहरूमा यसै प्रकारको प्रश्नहरू देख्ने, पढ्ने गरेको छौँ । यस्तो प्रश्नको मूल आशय भनेको समावेशी कोटा प्रणालीले गर्दा योग्य उम्मेदवार विभिन्न अवसरहरूबाट वञ्चित हुनु परेको भन्ने हो । आफूचाहिँ खुलामा ठूलो समूहबिच प्रतिस्पर्धा गर्नुपर्ने र केहीलाई भने तुलनात्मक रूपमा सानो समूहबीच प्रतिस्पर्धा हुने समावेशी कोटामा लिँदा उनीहरूलाई अनुचित फाइदा (Unfair Advantage) भएको भान हुनु स्वाभाविक हो ।

राज्यले लिएको विभेदकारी नीतिका कारण कुनै जाति, समूह, समुदाय, लिङ्ग, वर्ग सदियौंदेखि सीमानामा पारिएका छन्, उत्पीडनमा पारिएका छन् । यस्ता समूहलाई राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक, शैक्षिक लगायत मूलधारमा ल्याउने सकारात्मक विभेद (Positive Discrimination) को नीति अनुरूप नै कोटा प्रणालीको स्थापना गरिएको हो । विकास र प्रगतिको वर्तमान युगमा स्रोत र लाभ (benefits) हरूमा सबैको समान पहुँच र अधिकार स्थापना गर्ने प्रतिबद्धताअनुसार पनि यस्तो पद्धतिको व्यवस्था गरिन्छ । सबैलाई समान रूपमा विकास र अधिकार प्रदान गर्ने भनी विभिन्न अन्तर्राष्ट्रिय सन्धि, अभिसन्धिहरूमा राज्यले यस्ता प्रतिबद्धताहरू व्यक्त गरेका हुन्छन् ।

सफलता प्राप्त गर्नका लागि सबैलाई निष्पक्ष र समान अवसर (level playing field ) दिने कि नदिने भन्ने मूल प्रश्न हो । के समानता र अधिकारको लहरमा नेपाल अछुतो भएर बस्न सक्ला त ? राज्यले नदिए पनि एक्काईसौं शताब्दिका जनताहरूले आफ्ना हक अधिकारहरूप्रति सचेत भइसकेका छन् । यस्ता अधिकारहरू कसरी प्राप्त गर्ने भन्ने विषयमा पनि उनीहरू जागरूक भइसकेका छन् ।

नेपालको संविधानमा समावेशन, समानुपातिक प्रतिनिधित्वबारे प्रगतिशील प्रावधानहरू छन् । यिनको कार्यान्वयनको पाटो देखिन बाँकी नै छ । तर यस्ता प्रावधानहरू किन राखियो भनी राज्यले आम जनतामा सचेतना जगाउनु उत्तिकै जरूरी छ । ताकी कुनै एक समूहले आफ्नो भाग अर्को समूहले गर्दा खोसिएको महसुस नगरून् । कोटा प्रणालीले गर्ने भनेको पनि कुनै एक समूहको भाग नखोसिकन अर्को वञ्चितीकरणमा परेको समूहलाई भाग थपेर वा नयाँ सिर्जना गरेर अघिल्लो समूहसँगै समान रूपमा उपभोग गर्ने वातावरण सिर्जना गर्ने हो ।

यस्तो अवस्था सिर्जना भएपछि नै कोटा प्रणालीको अन्त्य हुन्छ । सदैव लागू हुने स्थायी प्रकृतिको हुने कोटा प्रणालीको मान्यता पनि होइन । त्यस्तो अवस्था एक दिन पक्कै पनि सिर्जना हुन्छ, जहाँ सबैबीच स्वस्थ प्रतिस्पर्धा हुनेछ । यसका लागि ती मित्र र विभिन्न सूचकाङ्कहरूमा अगाडि रहेका सबै समूहहरूको समानुभूति, समर्थन र साथ अत्यावश्यक छ ।

अन्त्यमा ती सहभागीलाई सोध्न मन थियो – नेपालको प्रगति र समृद्धिको यात्रामा आफ्ना सहयात्रीहरूलाई पछाडि छाडेर एक्लै अघि बढ्न तपाईको मनले देला त मित्र ?

Posted in human rights | Tagged , | Leave a comment

लुट २ समीक्षा : जबर्जस्ती बनाइएको सिक्वल

कलाकार : सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, प्रवीण खतिवडा

निर्देशक : निश्चल बस्नेत

रेटिङ : २/५

**यस लेखले फिल्मका कथावस्तुबारे विवरणहरू खुलाएको पूर्वसूचित गराइन्छ
अत्यधिक सफल फिल्म लुटको सिक्वल पाँच वर्षपछि लुट २ प्रदर्शनमा आएको छ। प्रायः दर्शकको मन जितेका फिल्महरूको सिक्वल बनाउने चलन रहेको छ । सिक्वलमा पहिलेको फिल्मकै पटकथाको केही हदसम्म निरन्तरता हुने भएकाले निर्देशकलाई सहज हुने गर्छ । तथापि पहिलेको फिल्मकै सफलतालाई कायम राख्नु र सो नहेरेका नयाँ दर्शकले पनि सिक्वलको पटकथालाई सहज रूपमा लिने गरी बनाउनु निर्देशकका लागि उत्तिकै चुनौतीपूर्ण हुन्छ । लुट २ हेरी सकेपछि भने निर्देशक निश्चल बस्नेतले पहिलो सहज रोजाइको सहारा लिएको अनुभूति हुन जान्छ ।

जबर्जस्ती लादिएका दृश्यहरूले गर्दा फिल्म सररर बग्दैन, पटकथा कृत्रिम लाग्छ । जस्तो, हाकु काले (सौगात मल्ल) को समूह र गोफ्ले (दयाहाङ राई), नरे (कर्मा) लगायतको समूहबीच डिस्को क्लबमा झगडा हुँदै गर्दा हाकु कालेको बैंक लुट्ने योजनाको कागजातहरूमा गोफ्ले समूहको ध्यान जानु, मकैबारीमा रहेको हाकु कालेको अड्डामा आगो लगाएर भाग्दै गर्दा सुन्दरीसँग फोनमा सामान्य कुराकानी गरेका प्रसङ्गहरू (भाग्दै गर्दा फोन आएको थाहा पाउनु असम्भव प्राय: हुन्छ) ।

लुटको छायाङ्कनका क्रममा लखेटिरहेका दृश्यहरूमा गरिएको प्रयोग लुट २ मा पनि छ । पहिलो चलचित्रमा गरिएको रचनात्मक प्रयोग भने सिक्वलमा आएर अधिक प्रयोग हुँदा पट्यारलाग्दो भएको छ । यसैगरी छायाङ्कनमा प्रयोग गरिएको क्यामरा कलाकारको गतिसँगसँगै हुने क्रममा नियन्त्रणमा नभएर हल्लिदाँ दृश्य हेर्दा दर्शकलाई आँखामा पीडासमेत अनुभव हुन्छ ।

फिल्ममा नारीलाई उपभोग्य वस्तुको रूपमा चित्रण गरिएको विषयको भने आलोचना हुन सक्छ । एक करोडभन्दा बढी युट्युबमा हेरिएको यस फिल्मको हिट गीत ‘ठमेल बजार’ मा डान्स बारकी नर्तकी सुन्दरी (अलिशा राई) लाई ग्राहकहरूले उनको शरीरमा सुम्सुम्याउँदै मजा लिएको देखाइन्छ । यसैगरी हाकु कालेले आफ्नी पत्नी भुन्टी (सिर्जना सुब्बा) लाई मेकअप गर्ने सामान धेरै चाहिने, भात पकाउन जानु भनी हप्काएका दृश्यहरू पनि व्यङ्गका रूपमा देखाइएका छन् । फिल्मले जुन समयमा पटकथा बुनिएको छ, त्यस बेलाको समाजको पनि चित्रण गर्छ । त्यस समयमा रहेका समाजका विकृति, विसङ्गतिहरूलाई हटाउने प्रयत्नको रूपमा फिल्म एक सशक्त माध्यम हो । तथापि, फिल्ममा त्यस्ता विषयलाई हलुका रूप प्रस्तुत गरी थप बल दिने जोखिम पनि उत्तिकै हुन्छ । कबड्डी फिल्मको सिक्वलमा पनि गर्भधारण गर्न असफल महिलामाथि झाँक्रीले बलात्कार गरेको दृश्यलाई व्यङ्गको रूपमा देखाइएको विषयको आलोचना भएको थियो ।

सस्पेन्स धारको यस चलचित्रमा कथावाचनले पनि दर्शकलाई बाँध्न सकेको छैन । गोफ्लेको समूहले बैंकको पैसा लुटे पनि बाकसमा पैसाको साटा कागजका बिटाहरू हुन्छ । हाकु कालेको समूहले कसरी त्यो बाकस साट्यो भनी पुनः फ्ल्यासब्याक गरी सबै दृश्यहरू देखाइन्छ । दर्शकमा समेत उत्सुकता बढाउँदै विस्तारै कथा खुलाउँदै जाने शैली वा केही सस्पेन्स बाँकी राखी दर्शकलाई नै अनुमान लगाउने खुला अन्त्य राख्ने चलन पनि सस्पेन्स धारमा प्रचलित छ । यस्तो शैली अपनाउँदा लुट २ रोचक हुन सक्थ्यो ।

ड्रोनबाट छायाङ्कन गरिएका केही दृश्यहरू रोचक छन् । सौगात मल्लले हाकु कालेका रूपमा आफूलाई पुनः स्थापित गरेका छन् भने दयाहाङ राई लुटमा भन्दा केही फिका देखिन्छन् । ऋचा शर्माको भूमिका सीमित छ । सिक्वलमा उनको उपस्थितिलाई पुष्टि गर्न निर्देशक असफल भएका छन् ।

नेपाली चलचित्रमा नयाँ धारको सूत्रपात गर्ने श्रेय पक्कै पनि निश्चल बस्नेतलाई जान्छ । तर आफ्ना पुराना सिर्जनाहरूको सहारा लिएर जबर्जस्ती सिक्वल थोपरिदिँदा उनी आफैँमा रचनात्मक अभिव्यक्तिको ह्रास आएको भान हुन्छ । उनले पछिल्लो पटक बनाएको कबड्डी कबड्डी सिक्वललाई हेर्दा पनि यस्तै देखिन्छ । फिल्ममा कथावाचकको रूपमा  जम्नु पर्नेमा उनी ‘ठमेल बजार’ गीतको नाचमा बढी जमेका छन् ।

समग्रमा बहुप्रतिक्षित फिल्म लुट २ ले दर्शकलाई निराश मात्र हैन, दुई घण्टा बोरसमेत बनाउँछ । अनावश्यक लामा फाइट सिनहरू, पात्रहरूबीच अस्पष्ट संवाद, कर्कश ध्वनिले दर्शकलाई फिल्म अवधि व्यतित गर्न हम्मेहम्मे बनाउँछ । लुट २ को अन्त्य खुलारूपमा छाडिएकोले लुट ३ पनि बन्ने सम्भावना देखिन्छ । त्यसले दर्शकको मन जित्नलाई भने निर्देशक बस्नेतले बढी नै मेहनत गर्नुपर्ने छ ।

Posted in Movie Review | Tagged , , , , | Leave a comment

उडान RA 206 हाइलाइट्स

दुई महिना बढीको दिल्ली बासपछि आज (अक्टुबर ६, २०१६) को काठमाडौ फिर्ती मेरो लागि आफैमा रोमाञ्चक थियो । यसमाथि नेपाल वायु सेवा निगमको आजको १०.४० को उडान RA 206 मा भएका केही घटनाहरूले यस यात्रालाई विशेष बनायो । तीमध्ये केही उल्लेख्य तल प्रस्तुत छ ।

  • विवादमा आइरहने पूर्व मन्त्री तथा सभासद् विश्वेन्द्र पाश्वान विजनेस क्लासमा सवार
  • नेपाल-भारत प्रबुद्ध समूह (Nepal-India Eminent Persons Group) का नेपाली विज्ञहरू डा. भेषबहादुर थापा, नीलाम्बर आचार्य, डा. राजन भट्टराई ईकोनोमी क्लासको पहिलो पङ्क्तिमा बसाई (सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्ने सहमतिपश्चात् वहाँहरूको फिर्ती होला)
  • विमान सेवाले उपलब्ध गराउने खानामध्ये Non-veg सेवन गर्ने क्रममा मसँगै रहेकी सहयात्रीले चिकन पिसमा किरा भेट्नु
  • विमान अवतरणपश्चात् टर्मिनलमा आउने क्रममा सेलिब्रिटी पाइलट विजय लामासँग भलाकुसारी (वहाँका बुवा मेरा पूर्व शिक्षक हुनुभएकोले भूमिका बाँधेर वहाँलाई चिकेनमा किरा भेटिएको प्रसङ्ग सुनाए । फाइभ स्टार होटलले पठाएको खानामा पनि त्यस्तो भएछ है भनेर वहाँले मलाई फोटो खिच्नु पर्ने भनेर सम्झाउनु भयो । फोटो खिच्ने मोबाइल वहाँहरूकै निर्देशनमा विमान चढ्नेबित्तिकै स्विच अफ् गरेपछि कसरी खिच्ने हौ भनेर म ट्वाँ परे)
Posted in encounters, Uncategorized | Leave a comment

‘दिखने मे तो चिनी लगता हैं’

रेडिएसन र डक्टरसँग परामर्शपछि आज बेलुका ४ बजेतिर रिठाला मेट्रो स्टेसनमा रेलको लागि कुरे । एउटा रेल छुटेको दुई मिनेटपछि नै अर्को रेल आयो । रेल चढ्ने क्रममा ढोका खुल्ने बित्तिकै सिटका लागि दौडिए । एक युवाले आफू नबसी हातले छेकेर आफ्नो लागि र अर्को पनि कुर्सी छेकेर बसे । त्यो देखेर म उसको हात हटाएरै खाली कुर्सीमा ठ्यास्स बसे ।

‘उधर जाओ,’ पारी पट्टीको सिटको लहर देखाउँदै उसले मलाई आदेश दियो ।

‘धूप है उधर, मै नही जाउँगा,’ टन्सिल भएको घाँटीबाट निस्केको मसिनो स्वर उसले केही बुझेन ।

उसँगै रहेको साथीले सोध्यो, ‘क्या बोल रहा था वो?’

‘पता नहीं, दिखने मे तो चिनी लगता हैं,’ सिट कब्जा गर्न खोज्ने युवाले जवाफ दियो । (उत्तर–पश्चिमी भारतीय राज्य आसाम, मेघालय, नागाल्याण्ड, मिजोरम लगायतका मंगोलियन वर्ण जस्ता देखिने जनतालाई होच्याउन चिनी, चिङ्की जस्ता नश्लवादी शब्द प्रयोग गरिन्छ)

‘तो तुम भि दिखने मे चायपत्ति लग रहे हो,’ मैले मनमनै भने । (ठूलै स्वरमा भनेको भए त मलाई भकुरी हाल्थे नि)

उनीहरु पाँच जनाको समूहमा रहेछन् र सँगै बस्ने भनेर सिट ओगट्न खोजेकाले मलाई अर्को पट्टीको लहरमा जाओस् भन्ने चाहेका रहेछन् ।

त्यसपछि पनि मलाई हेर्दै के-के भन्दै थिए । म भने कालो चस्मा भिरेर कानमा इयरफोन घुसाएर आफ्नै तालमा गमक्क परेर बसे ।

Posted in encounters | Leave a comment

‘निराश नहुनु है बाबु’

क्यान्सर डायरीः असोज २, २०७३

रेडिएसन दिन थालेको आज २५ दिन भैसक्यो । अब अझै ११ साइकल बाँकी छ । २० औं पटकसम्म दिँदा सामान्य मात्रै साइड इफेक्ट देखाए पनि पछिल्लो पाँच ओटापछि भने साह्रै कडा असरहरू देखिन थालेका छन् । थुक निल्नसमेत गाह्रो भैरहेको बेला खाना खानु चर्को यातनासरह भएको छ भने रेडिएसनका विकिरणहरूले घाँटीका छालाहरू डढेर पत्रपत्र उप्केका छन् । त्यसमाथि जिब्रो बेस्वादिला भएको पनि यो उपचार प्रक्रिया सुरु भएदेखि नै हो ।

साउन १६ गते केही दिनका लागि फलोअपमा नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्सटिच्यूट एण्ड रिचर्स सेन्टर आएको अहिले डेढ महिना भैसक्यो । थाइरोइड क्यान्सरको तेस्रो पटक रिकरेन्स (पुनरावृत्ति) भएको डाक्टरहरूले निश्चित गरेपछि केही दिन त के गर्ने के नगर्ने भन्ने अन्योलमै बित्यो । थाइरोइड क्यान्सरमा धेरै विरामीलाई रेडियो एक्टिभ आयोडिन थेरापीले नै रोगलाई उपचार गर्दा सफल हुने भए पनि ५ देखि १० प्रतिशत रोगीहरूमा यसले काम नगर्ने जानकारी डाक्टरहरूले दिए, जुन मेरो सन्दर्भमा पनि लागु हुने उनीहरूले बताए । यस्तो केसमा रेडिएसनबाट उपचार गर्ने विधि अपनाउने गरिएको भनी डाक्टरहरूले तुरुन्तै उपचार सुरु गर्नका लागि सल्लाह दिए ।

घरपरिवार, साथीभाइसँग सरसल्लाह र पैसाको जोहो गरेपछि दुईदिनमै रेडिएसन सुरु भयो । हप्तामा ५ पटक गरिने रेडिएसन जम्मा ३६ पटक गर्नुपर्ने डाक्टरले आफ्नो योजना सुनाए । तीन दिनको लागि आएको मान्छे दुई महिना बस्नुपर्ने सम्झेर मन भाउन्न हुन्थ्यो । अनेकथरी बहाना खोजी आफूलाई सान्त्वना दिने प्रयास गरिन्थ्यो – ६,७ महिनासम्म उपचार गराएरै दिल्ली बसेका छन् आफू त २ महिना मात्रै हो, महिनाभन्दा पनि दिन गन्ती गरौंला २ महिना यत्तिकै बिति हाल्छ नि (वान डे एट अ टाइम), उपचार अवधिभरि दिल्लीनजिकै गाजियाबादमा साथीसँगै बस्ने हुँदा २ महिना बितेको पत्तै पाइन्न नि, === लगायत । तर पनि उपचारको लागि मेट्रो रेलमा आउँदा, जाँदा, अस्पतालमा कुर्दा, २ दिन बिदामा अनेकथरि कुराहरू मनमा खेल्थे ।

रेडिएसन उपचार ५ मिनेट जति मात्र हुने भए पनि कोठाबाट अस्पताल आउँदा जाँदा, आफ्नो पालो कुर्दा दैनिक ५, ६ घण्टा जाने गर्छ । यो उपचार विधिमा क्यान्सरयुक्त कोषिकाहरूमा केन्द्रित गरी निश्चित कोणबाट विकिरणहरू टाउको वरिपरिबाट दिइने गरिन्छ । अनुहारमा भने सुरक्षित कवच लगाइन्छ । रेडिएसनले क्यान्सरयुक्त कोषिकासँगै अन्य स्वस्थ्य कोषिकाहरू पनि मर्ने हुँदा यसबाट विभिन्न असरहरू देखिन्छन् । तर स्वस्थ्य कोषिकाहरूको स्थान नयाँ स्वस्थ्य कोषिकाहरूले लिने हुँदा यी असरहरू अस्थायी हुने डाक्टरले बताए ।

क्यान्सर अस्पतालमा प्रायः जसो दृष्य नैराश्य पैदा गर्ने नै हुन्छ । क्यान्सरको शल्यक्रियापश्चात् शारीरिक रुपमा देखिने परिवर्तन, रोगको निक्र्यौलपश्चात् रोगी तथा परिवारमा देखिने तनाव, रोगीहरूमा बाँच्ने तीव्र उत्कण्ठा लगायतले अस्पतालमा धेरै समय बिताउन मन लाग्दैन । तर प्रत्येक रोगीहरूको उपचार गराउँदाका कथाहरू उत्तिकै संघर्षपूर्ण छन् । रेडिएसन सुरु गराउँदा अन्य रोगीहरूसँग पनि कुरा गरेर उनीहरूका अनुभव सोध्ने गरे पनि यसको साइड इफेक्टले होला आजकल धेरैसँग कुरा गर्न पनि मन लाग्दैन । फेरि रेडिएसनले घाँटीमा टन्सिल हुँदा बोल्न त्यसै अफ्ठ्यारो हुने गरेको छ ।

रेडिएसनका लागि जाँदा मेट्रो रेलमा चढ्न गर्नुपर्ने संघर्ष, यात्रुहरूका रोचक गतिविधि, विरामीहरूका कथाहरूबारे समेटेर कुनै दिन उपन्यास लेखिएला । अहिले त रेडिएसनको असरले एकोहोरो भइएको छ । रेल चढ्ने बित्तिकै सिट पाए किताब खोलेर पढिन्छ नत्र कानमा इयरफोन ठुसेर यात्रा गरिन्छ । यस अवधिमा चारओटा ठूलै उपन्यास सकाइएछ । १० वर्षको व्यवसायिक जीवनमा पनि यसरी सरसर्ती किताब पढ्न नसकेको सन्दर्भमा यसलाई ठूलै उपलब्धिको रुपमा लिएको छु । यसबाहेक विगतको पुनरावलोकन, आगामी कदमहरूको योजना, बकेट लिस्ट बनाउने र केही टोलाउने गर्दा नै समय बित्ने गरेको छ । हाल जिब्रो लाटो भएकोले उपचारपछि चिया, पानी, तरकारी, खाना लगायत सामान्य खाने कुराहरू पनि स्वाद लिएर खाने उत्कट चाहना पलाएको छ ।

रेडिएसनको असरले च्यापेपछि घरबाट पनि दैनिकजसो फोन आउने गरेको छ । आमाले यो खा, यो नखा भनेर नियमित भनिराख्नुहुन्छ । आमाको कुरालाई गुगलसँग भिडाउँदा धेरै कुरा मिल्दैन । वैज्ञानिक अनुसन्धानहरूमा भर पर्ने म आफ्नो वर्षौको सिकाइको आधारमा आमाबाट आएको निर्देश नकाट्न पनि सकेसम्म आमाले भनेकै जसो गर्नेगर्छु । प्रायःजसो आमा बोलिरहनुहुन्छ, म भने सुनिरहन्छु । रेडिएसनले पोलेका घाउहरूमा चिसो पानी छर्केझैं हुन्छ, केही बेरका लागि भए पनि आमासँग कुरा गर्दा । हस्, हुन्छ बाहेक घरमा अन्य सदस्य र कुकुरको खबर सोध्ने मेरो नियमित क्रम हुन्छ ।

‘अझैं दुई हप्ता बाँकी छ, झन् गाह्रो हुन्छ होला,’ आमा भन्नुहुन्छ । पाँच हप्ता त सहे, अब दुई हप्ता पनि जसोतसो काटेर दसैंमा आइपुग्छु भनेर म आमालाई भन्छु । आफूले नौ महिना कोखमा हुर्काएको सन्तानलाई पीडादायी अवस्थामा देख्दा आमाको मन कति पोल्दो हो भनी एक मनले त आमा र परिवारहरू अहिले सँगै नभएकै जाती नै भयो जस्तो लाग्छ । ‘फोनको ब्याट्री सकिन लागेजस्तो छ कराउन थाल्यो, अब फोन राख्छु है,” भन्दै आमा थप्नुहुन्छ, ‘निराश नहुनु है बाबु’ । मेरा आँखा भरिएर आउँछन् र फोन काट्छु ।

Posted in diary | Leave a comment