मानव अधिकार आन्दोलनमा मतभेद

  • 31 May 2016
  • मङ्गलबार १८ जेष्ठ, २०७३
  • नीर लामा

कर्णालीको एक जिल्लामा जातीय विभेदका कारण कुटपिटपश्चात् मृत्यु भएको भनिएको घटनामा विभिन्न मानव अधिकार संस्थाको एक संयुक्त टोलीले स्थलगत अध्ययन ग¥यो । अध्ययनको निष्कर्ष आफ्नो दृष्टिकोणअनुरूप नआएपछि टोलीका एक सदस्यले आफूलाई अध्ययनबाट अलग राखे।

कैलालीको डुडेझारीमा २०६६ सालमा प्रहरी र सामुदायिक वनमा टहरा बनाई बस्ने समूहबीच चार जनाको ज्यान जाने गरी भएको झडपमा मानव अधिकारकर्मीको दुई समूहले छुट्टाछुट्टै स्थलगत अध्ययन ग¥यो । दुवै समूहले निकालेका निष्कर्ष परस्पर विरोधी थिए । केही वर्षअघि आदिवासी जनजातिको अधिकारसम्बन्धी एक राष्ट्रिय कार्यक्रममै एक संस्थाका सदस्यले अर्को संस्थाका प्रमुखलाई पहिचान विरोधीको आरोप लगाए । यसै वर्ष जेनेभामा भएको नेपालको मानव अधिकारसम्बन्धी दोस्रो आवधिक समीक्षामा त मानव अधिकारकर्मीमाझको विभाजन सतहमा स्पष्टै देखियो । नागरिक समाजको प्रतिनिधित्व गरी गएका अधिकारकर्मी नाकाबन्दी र मधेस आन्दोलनमा भएको दमनको विरोध गर्ने क्रममा दुई समूहमा विभाजित भए । दुवै विषय प्रत्यक्षरूपमा नेपाली जनताको मानव अधिकारसँग सम्बन्धित भए पनि अधिकारकर्मीले संयुक्तरूपमा प्रदर्शन गर्न चासो लिएनन् । यसैगरी राष्ट्रिय मानव अधिकार आयोगका आयुक्तहरूसँग हालसालै प्रधान मन्त्रीले लिएको ‘स्पष्टीकरण’ बारे पनि अधिकारकर्मीको मत फरक देखियो । हालै भएको नौँ बुुँदे सहमतिको विरोधमा भएको प्रदर्शनमा सधैँ अग्रपंक्तिमा देखिन रुचाउने अनुहारको उपस्थितिले पनि मानव अधिकार समुदायको अनेकात्मक दृष्टिकोणको परिचय प्राप्त हुन्छ ।

विश्वव्यापी, अविभाज्य र अहरणीय हुने भनिएको मानव अधिकारको बुझाइमा यसै क्षेत्रका विज्ञ एवम् अनुभवी मानिएकाहरूको दृष्टिकोणले आमजनता भ्रमित हुनु अस्वाभाविक होइन । नेपालका मानव अधिकारकर्मीमाझ हाल देखिएको यस्तो अवस्थाले मानव अधिकारको पालना र संवद्र्धनप्रति नागरिकको चासो न्यून हुँदै जाने खतराप्रति मानव अधिकारकर्मी सचेत नरहेको स्पष्ट हुन्छ ।

दृष्टिकोणमा भिन्नताको पृष्ठभूमि

पञ्चायतकालभरि मानव अधिकार समुदायबीच यस्तो मतान्तर देखिँदैनथ्यो । राजनीतिक अधिकार प्राप्तिसँग नै मानव अधिकारको समग्र अभियान गाँसिएको उक्त अवस्थामा बढी कल्पना गर्ने ठाउँ पनि थिएन । २०४७ सालको परिवर्तनपछि भने राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक एवम् सांस्कृतिक अधिकारले मानव अधिकार सरोकारमा प्रवेश पायो । यसको झझल्को नेपाल अधिराज्यको संविधान २०४७ मा देख्न सकिन्छ । सशस्त्र द्वन्द्व र जनआन्दोलनको अवधिसम्म पनि मानव अधिकारका विषयलाई मानव अधिकारकर्मीले समानरूपमा हेर्ने गर्थे । शान्ति सम्झौतापछि खुला राजनीतिक वातावरणमा मानव अधिकारकर्मीको आग्रह उनीहरूको कार्यसम्पादनमा पनि देखियो । शान्ति प्रक्रिया, संविधान सभाको चुनाव, मधेस आन्दोलनलाई हेर्ने दृष्टिकोणमा भिन्नता प्रष्टरूपमा देखा पर्न थाल्यो ।

विश्वासको सङ्कट

मानव अधिकारकर्मीले हाल आएर एक अर्कालाई संशयले हेर्ने गरेका छन् । आफ्ना कार्यक्रममा समान दृष्टिकोण राख्नेहरूलाई मात्र आमन्त्रण गर्ने गरेको देखिन्छ । एक अर्कालाई खुल्लमखुला आक्षेप लगाउने तहसम्म झरेर आफ्नो मर्यादा आफैंले भत्काइरहेका छन् । मानव अधिकार उल्लङ्घनका घटनाको स्थलगत अध्ययन गर्दा टोलीलाई समावेशी नबनाउने, विश्वसनीय र निष्पक्ष प्रतिवेदन नदिनेलगायत आरोप लाग्ने गरेका छन् । संविधानमा मधेसी, आदिवासी, जनजातिको असन्तुष्टि रहेकामा त्यसको पक्ष÷विपक्षमा मानव अधिकारकर्मीबीच कित्ताकाट भएको छ । स्वस्थ बहसलाई प्रोत्साहन गर्नुपर्ने समूहले यसरी एक अर्कालाई बाराबार गर्नुले समग्र मानव अधिकार आन्दोलनलाई भलो गर्दैन । सीमान्तकृत र वञ्चितीकृत समूहको अधिकारको आन्दोलनलाई व्यापक बनाउने अभियानलाई यसले मत्थर बनाएको छ । शान्ति प्रक्रिया र जनआन्दोलनका बेला मानव अधिकारकर्मीबाट भएको नेतृत्वदायी भूमिकाको अभाव अहिले देखिएको छ ।

मानव अधिकार आयोगको भूमिका

‘राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८’ मा आयोगले मानव अधिकारको संरक्षण र संवद्र्धनसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सम्पर्क र सम्बन्ध कायम गर्न सक्ने व्यवस्था छ । मानव अधिकार संस्थाहरूको अभिभावकका रूपमा पनि आयोगले यी संस्थाबीचको दूरी घटाउन प्रमुख भूमिका निर्वाह गर्नु आवश्यक छ । बदलिँदो परिस्थितिमा मानव अधिकारका विषयमा समान धारणा विकास गर्नका लागि आयोगले मानव अधिकारकर्मीहरूका लागि तालिम र पुनर्ताजगी आयोजना गर्नुपर्ने देखिन्छ । यसैगरी समसामयिक विषयहरूमाथि संस्थाहरूसँग छलफल गर्नका लागि नियमित बैठकहरूलाई आयोगले आफ्नो क्यालेन्डरमै राख्न जरुरी छ । घटनाको निष्पक्ष अध्ययन÷अनुसन्धान गर्ने विधिहरूबारे पनि आयोगले अधिकारकर्मीलाई तालिम व्यवस्था गर्नुपर्छ । अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरूले पनि स्थानीय अधिकारकर्मीको प्रतिवेदनकै आधारमा धारणा बनाउने हुँदा यस्ता कदमले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमै नेपालको मानव अधिकारसम्बन्धी समान दृष्टिकोण बनाउन मद्दत गर्छ ।

भावी बाटो

जिल्लाका प्रशासन प्रमुख र प्रहरी प्रमुखलगायत सरोकारवालाले मानव अधिकारकर्मी आन्दोलनमा राजनीतिक कार्यकर्ताका रूपमा प्रत्यक्ष सहभागी हुने र स्थिति प्रतिकूल भए अधिकारकर्मीका रूपमा प्रस्तुत भई दोहोरो पहिचान दिने गरेको बताउने गरेका छन् । त्यसैले मानव अधिकारकर्मीले आफ्नो कार्यमा निष्पक्षता कायम गर्नु नै अहिलेको मुख्य चुनौती हो । सशस्त्र द्वन्द्वपीडित समूहहरूले हाल द्वन्द्वपीडित साझा चौतारीको सञ्जालमार्फत् आफ्नो धारणा जोडदाररूपमा राख्ने गरेका छन् । मानव अधिकारकर्मीमाझ पनि यस्तै साझा सञ्जाल आवश्यक देखिएको छ । मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्रका रूपमा यस्तो सञ्जाल अहिले पनि छ । यसै सञ्जालमार्फत राष्ट्र सङ्घका मानव अधिकारसम्बन्धी समितिहरूमा नेपालको नागरिक समाजका तर्फबाट वैकल्पिक प्रतिवेदनहरू पठाइने गरिएको छ । मानव अधिकारका विभिन्न क्षेत्रमा काम गर्ने नेपालका संस्थाले एकै सञ्जालमार्फत प्रतिवेदन पठाउने यस्तो व्यवस्था अन्तर्राष्ट्रिय स्तरमै उदाहरणीय मानिएको छ ।

सशस्त्र द्वन्द्वका अपराधसम्बन्धी जवाफदेहिता, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमार्फत शान्ति प्रक्रियालाई तर्कसङ्गत टुङ्गोमा पु¥याउन पनि अधिकारकर्मीमाझ मानव अधिकारको दृष्टिकोणमा एकरूपता अत्यावश्यक छ । सामाजिक कुरीति, कुसंस्कार, दण्डविहीनता, कानुनी शासनको अभाव, जातीय विभेद, महिला, बालबालिकामाथि हिंसा कायमै रहेको अवस्थामा मानव अधिकारकर्मी एकताबद्ध हुनु जरुरी देखिएको छ । अधिकारकर्मीबीचको मतभेदले मानव अधिकार आन्दोलनलाई ‘डलर खेती’ का रूपमा परिभाषित गर्ने समूहलाई नै बल प्रदान गर्छ । यसले दण्डविहीनताविरुद्ध र कानुनी शासनको अभियानलाई कमजोरमात्र बनाउँछ । विभिन्न संस्थाका कार्यक्षेत्र फरक हुन सक्ने भए पनि मानव अधिकारका विषयलाई हेर्ने दृष्टिकोणमै भिन्नता हुनु सन्तोषजनक होइन । मानव अधिकारको क्षेत्रलाई राजनीतिक नियुक्तिको सिढीका रूपमा प्रयोग हुँदा पनि यस्तो अवस्था आएको हो । मानव अधिकार आन्दोलनमा योगदान र दक्षताका आधारमा नियुक्ति दिए यस्तो अवस्था अन्त्य हुनेछ ।

मानव अधिकारकर्मी

(यो आलेख सर्वप्रथम २०७३ जेठ १८ को नागरिक दैनिकमा प्रकाशन भएको हो र यस लि‍ङ्कhttp://nagariknews.com/opinion/story/75288.html मा उपलब्ध  छ)

Posted in human rights, Uncategorized | Leave a comment

Women in Green and Gold

henna

The long queue in front of temples
Henna hands adorn women
Caring not about circling clouds
Stand assured as they wait turn.

Flocks of women gather
Starting fresh from dawn
When Lord Shiva is revered
In the month of Shrawan.

No more are Mondays mundane
Awaited they are with delight
Days become occasions
Observed as soothing sight.

The sound of bangles
Resonating here and there
Never ceases to attract attention
Like enchanters in a fair.

Wishes of well-being of their partners
The tradition that never seems old
Handed over from generations
To women in Green and Gold.

(July 26, 2013) Original Source

Posted in Poem | Tagged , | Leave a comment

“जोली भारतीय तान्त्रिक हुन्, ओलीलाई चढेको राष्ट्रवादको भूत झार्न आ’का हुन्”

१०० दिनभन्दा बढीको मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण सम्पूर्ण नेपाली आक्रान्त बनेका छन् । यसैबेला भारतबाट बिजेपी नेता बिजय जोलीको नेपाल भ्रमणको सन्दर्भमा तोरी र लाउरेबीचको चिया संवाद ।

तोरीः दाजु, जोली नेपाल आ’का छन् रे नि!

लाउरेः अस्ति आ’का हुन् ।

तोरीः अम्रिकी जोलीको फिलिम त हेरेको हुँ । यी जोली चाहिँ को हुन् ?

लाउरेः यी भारतीय तान्त्रिक हुन् ।

तोरीः कसलाई झारफूँक गर्न आ’का हुन् त?

लाउरेः प्रधानमन्त्री ओलीलाई भेट्न ।

तोरीः ओली पर्धानमन्त्री भएपछि त तङ्ग्रिनु भा झैँ देखिनुहुन्च त ।

लाउरेः वहाँलाई राष्ट्रवादको भूत जो चढेको छ, त्यसैलाई झार्न इन्डियाले पठाएको ।

तोरीः तर वहाँले पहाडजस्तै अडान लिनुभ’को छ भन्चन् नि इन्डियाको नाकाबन्दीविरूद्ध ।

लाउरेः पहिले भारतीय संस्थापनको प्रिय पात्र थिए कमरेड ओली ।

तोरीः हो र दाजु!

लाउरेः सुधीर शर्माको ‘प्रयोगशाला’ पढ् । छर्लङ्ग हुन्छ ।

तोरीः पढ्ने लेख्ने बानी भए त दाजुजस्तै विद्वान भइहाल्ते नि ।

लाउरेः राजनीतिमा कहिले पनि स्थायी शत्रु र मित्र हुन्नन् ।

तोरीः बा… अहिले चाहिँ दाजुले लास्टै कडा दिनु भो ।

लाउरेः अध्ययन गर्ने बानी गर, अबको नेपाल हाक्ने त म जस्तै ले हो ।

तोरीः सै’ कुरा हो दाजु । अब यी बुढाहरूले देश हाक्न सक्तैनन् । साँचि दाजु, मधेशीहरूसँगको वार्ता के भैराख्या छ त?

लाउरेः सुनेको छैनस् ओलीका उपप्रधानमन्त्रीहरूको उग्र भाषण । भारतलाई भित्तामा पुर्याउने भाषण दिन्छन्, यताका सँग वार्ताको केहि कुरै छैन ।

तोरीः कसको मात्र भाषण सुन्ने दाजु । आधा दर्जन छन् ।

“भान्टाबारीमा भारतीय एसएसबीले नेपालीलाई गोली प्रहार गरी घाइते बनाएको घटनामा नेपाल सरकारद्वारा संलग्न एसएसबी जवानलाई कारबाही गर्न माग” रेडियोले ब्रेकिङ न्यूज फुक्छ ।

तोरीः दाजु, पहिले नाकाबन्दी गरी “केही नखा” र अब गब्बरको शैलीमा “गोली खा” ।

लाउरेः भारतीय एसएसबीको अत्याचार हो । पहिले पनि यस्ता घटना धेरै भएका छन् ।

तोरीः तर भारतीय र नेपाली सुरक्षाकर्मीबीच एउटा ठूलो फरक पाए मैले ।

लाउरेः के?

तोरीः उताकाहरू जीउ र खुट्टामा गोली हान्दा र’चन्, हाम्रा चाहिँ सिँधै टाउकामा ।

लाउरेः …

***************************

तोरीः काँग्रेस, एमाले, माउवादी जो आएनी त्यस्तै रच’ त दाजु ।

लाउरेः नेता धेरै भए, राजनेता भएनन् हामीकहाँ ।

तोरीः हैन दाजु, राजनीतिमा पोलिटिक्स घुसेपछि त्यस्तै हुन्च क्यारे ।

लाउरेः क्यानडामा ४४ वर्षका प्रधानमन्त्री छन्, हाम्रोमा ८८ ।

तोरीः अनि त सक्किगो नि ।

लाउरेः हामीकहाँ नि भारतमा जस्तै आम आदमी पार्टी खालको वैकल्पिक पार्टीको आवश्यकता छ ।

तोरीः ए, हामीले सिक्ने पनि भारतबाट मात्रै र’च हगि ।

लाउरेः बाबुरामले खोल्न त खोले तर सबै पुरानै अनुहार छन्, आशलाग्दा छैनन् ।

तोरीः अब के हुन्च त दाजु देशमा ।

लाउरेः त्यो त एक से एक महाविद्वानहरूले पनि खुट्याउन सकेका छैनन् ।

तोरीः यस्तै स्थिति रहिरहने भए त जनताहरू भोकै मर्ने भए त ।

लाउरेः जे गर्ने हो प्रधानमन्त्री ओली ले नै गर्ने हो ।

तोरीः तर तपाई जे भन्नुस् दाजु, ओलीको बोली बन्दुकको गोली नै हो के!

 

Posted in Satire | Leave a comment

फिल्म समीक्षाः झोले

कलाकारः दयाहाङ राई, प्रियंका कार्की

निर्देशकः दिपेन्द्र के खनाल

रेटिङः १.५/५

विभिन्न राजनीतिक दलको जुलुस, आन्दोलनमा भाग लिने हर्के (दयाहाङ) को दैनिकीबाट झोलेको सुरूवात हुन्छ । निकै आशाजनक सुरूवात भए पनि केही मिनेटपछि नै फिल्मको गति सुस्त हुन्छ । राजनीतिक आन्दोलनका नाममा युवाहरू कसरी प्रयोग भइरहेको सुरूमा देखाइएको छ । तर पछिका भागहरूमा सुरूवातको केही सम्बन्ध देखाइँदैन । साउदी अरबमा गएर केही पैसा कमाइ आफ्नै गाँउमा फर्की घर बनाउने र बिहे गरी आफ्नो दुलहीलाई मोटरसाइकलमा घुमाउने आम नेपालीको सपना झै हर्केको पनि हुन्छ । तर म्यानपावरले पैसा खाइ भागेपछि हर्केको सुन्दर सपना तुहिन्छ । यसै उदासीमा आफ्ना पीर भुलाउन भट्टीमा रक्सी खाँदै गर्दा उसको अंगुर (शिशिर राना) सँग भेट हुन्छ । र यसपछि फिल्म अंगुरको पेशा र घर सेरोफेरोमा नै केन्द्रीत हुन्छ । र यसैमा नै फिल्मले दर्शकमाथि आफ्नो पकड गुमाउन पुग्छ ।

अंगुर जग्गा बेच्ने दलाली गर्छन् । उनको भ्रष्ट प्रहरी, टोले गुण्डा सबैसँग उठबस हुन्छ । तर पैसा नबुझाउदा उनी सबैको आँखाको तारो बन्छन् । उनी सुटुक्क अश्लिल फिल्म पनि बनाइ विदेशीलाई सप्लाई पनि गर्छन् । यसैका लागि हर्केसँग मित्रता गासी उनी रियालाई आफ्नो घर लान्छन् । दुवै जनालाई यौनसम्बन्ध राख्न लगाई उनी सुटुक्क ब्लु फिल्म बनाउँछन् । त्यस्तो फिल्म बनाउने क्रममा पैसाको लेनदेनमा उनलाई एक गुण्डा मार्न आएपुग्छन् । गुण्डासँग धकेलाधकेल हुँदा उल्टै अंगुरले गुण्डालाई मार्न पुग्छन् ‍। यहाँ कथाकारले ‘कलिउड मसाला’ हाल्न खोजेर फिल्ममा ट्विस्ट ल्याउन खोजेका छन् । गुण्डाको मृत्युपछि अंगुर फरार हुन्छन् । तर यो घटनाबारे अनजान हर्के, रिया, भंगेरी डन, भ्रष्ट प्रहरी सबै उनलाई खोज्दै उनको बंगलामा आउँछन्, एक अर्कासँग झगडा गर्छन् र यसै प्रसंगमा फिल्मको आधाभन्दा बढी केन्द्रीत छ ।

‘चपली हाइट’ बाट चर्चामा आएका निर्देशक दिपेन्द्र के खनालको निर्देशन सन्तोषजनक छ । हर्केले आफ्नो पासपोर्ट लगायत डकुमेन्ट बोकिरहने झोलालाई नै निर्देशक खनालले प्रतिकात्मक रूपमा प्रयोग गरेका छन् । तर घरबाट भाग्दा अंगुरले लगेको झोला कसरी प्रहरीको हातमा पुग्छ फिल्म अन्त्य हुँदासम्म प्रष्ट हुँदैन । तर सो झोलाभन्दा पनि अंगुरले लुकाएर राखेको पैसाको झोलाले अन्त्यमा हर्के र रियाको उद्धार गरिदिन्छ ।

दयाहांग राईले सधैँझै आफ्नो भूमिकालाई न्याय गरेका छन् । रक्सीले मातेको अभिनय गर्दा भने उनी अलि कृतिम देखिन्छन् । प्रियंकाको अभिनय ठिकै रहेको छ । छिटोछिटो डायलग बोल्ने गर्दा उनले बोलेका केही अंश दर्शकले नबुझ्न सक्छन् । केही सिनमा उनी लाउड लाग्छिन् । आगामी दिनमा प्रियंकाले आफ्नो डायलग डेलिभरीमा मिहिनेत गर्नुपर्ने देखिन्छ । अन्य पात्रको भूमिका बिर्सनलायक छ ।

फिल्मको सकारात्मक पक्ष यसको संगीत मात्र रहेको छ । फिल्ममा हर्केको संघर्षलाई बढि स्थान दिएको भए यसको कथाले दर्शकलाई बाँध्न सक्थ्यो । हुन त यसको जिम्मा पटकथाकारको हो । फिल्ममा केही भद्दा डायलगहरू प्रयोग भएका छन् भने अनावश्यक रूपमा शब्दलाई ‘बीप’ गरिएको छ । लगभग दुई घण्टा लामो फिल्मलाई सम्पादनको क्रममा डेढ घण्टामा झार्न सकिन्थ्यो । धेरै लामो संवाद भएका सिनहरू, हर्केको दोहोरिरहने एकालाप (मोनोलग) ले झोलेलाई झूर बनाएको छ ।

Posted in Movie Review | Tagged , , , | Leave a comment

ऋचामाथि धमलाको हमलाबारे मेरो टिपण्णी

अन्तर्वार्ता लिएर अन्तर्वार्ता दिने व्यक्तिभन्दा बढी चर्चा कमाउने कार्यक्रम सञ्चालक र कार्यक्रम कुन हो भन्दा ऋषि धमला र ‘धमलाको हमला’ जवाफ आए अचम्म नमाने हुन्छ । हुन त केही पत्रकार, कार्यक्रम सञ्चालकहरू अन्तर्वार्ता दिने व्यक्तिलाई कडा प्रश्नहरू सोध्ने, जनताका सामु जवाफदेही हुनका लागि बाध्य बनाउने, नयाँ खुलासाहरू गर्न लगाउने लगायत कारणले दर्शकको मन जित्न सफल हुन्छन् । तर ऋषि धमला भने प्रायः जसो नकारात्मक चर्चामा आइरहने पात्र हुन् ।

देशभर मुलुकले प्रथम महिला राष्ट्रपति, सभामुख पाएकोमा खुशीयाली भइरहेकोमा सामाजिक सञ्जालमा भने ऋषि धमलाले कलाकार ऋचा शर्मालाई आफ्नो कार्यक्रममा अमर्यादित प्रश्नहरू बारम्बार तेर्‌स्याएको विषय भाइरल भैरहेको छ । यस्तै विषयमा धमलाको आलोचना पहिले पनि नभएको होइन । कलाकार रेखा थापा, प्रियंका कार्की, गायिका ज्योति मगर लगायतसँगको अन्तर्वार्तामा पनि छोटो कपडा लगाएको भनी प्रश्न सोधेकोमा उनी विवादमा आएका थिए । उनको प्रश्न सोधाइले महिलाले कति छोटोसम्म लुगा लगाउन हुने/नहुने निर्धारण गर्ने ‘मोरल पुलिस’ धमला नै हुन् भन्ने लाग्छ ।

उनको विवादमा आएका कार्यक्रम पहिले पनि हेर्ने प्रयास गरेको थिए । तर उनको प्रश्ने सोध्ने एकोहोरो शैली, बडी ल्याङ्वेज, अतिथिमाथि हाबी हुने शैली, पट्यारलाग्दो हसाइले पुरै कार्यक्रम हेरी सकाउने धैर्य ममा कहिले भएन । तर ऋचामाथि ऋषि आक्रामकरूपमा प्रस्तुत भै र्‌याखर्‌याख पारेको जानकारीमा आएपछि ‘के रहेछ भनी’ धैर्यको बाँध फुट्ने गरी कार्यक्रम पुरै हेरे । आखिर मलाई मनपर्ने नेपाली कलाकारमध्ये ऋचा एक जो हुन् ।

कार्यक्रमको अवधिभर यति उकुसमुकुस भयो कुरा गरी साध्यै छन् । यस्तो छटपटि त अहिलेसम्म कुनै कार्यक्रम हेर्दा भएको थिएन । कार्यक्रम हेरिसकेपछि सो छटपटीलाई निकास दिन यो ब्लग लेखेको छुँ ।

धमलाजीलाई राजनीतिसम्बन्धी रेडियोमा प्रसारण हुने टक शोको म पनि फ्यान हुँ । उनले नेताहरूलाई जवाफ दिने लगाउने शैलीसँग म प्रभावित छु । नेताहरूलाई उक्साएर जवाफ दिन बाध्य पार्ने हुँदा धेरै श्रोताहरूले उनको कार्यक्रम रूचाएका छन् । नेताहरूप्रति आम जनतामा वितृष्णा जागेर पनि त्यस्तो शैली मन पराएको हुन सक्छ । उहासँग मेरो व्यक्तिगत चिनजान छैन । राजनीतिक कार्यक्रम सञ्चालन गर्न योग्य भए पनि मनोरञ्जनात्मक कार्यक्रम चलाउन भने उनले छोडिदिए हुन्छ । मान्छे सबै कुरामा निपुण हुन सक्दैन भन्ने बुझेर यसलाई छोडिदिए सजिलो ।

अब कुरा गरौँ सो अन्तर्वार्ताको । अन्तर्वार्तालाई चार भागमा बाँड्ने हो भने दुई भागमा धमलाले ऋचालाई व्यक्तिगत प्रश्नको वाण लगातार प्रहार गरे । एक भागमा उनले ऋचाको चलचित्र र नेपाली सिनेमा जगतबारे कुराकानी गरे भने एक भाग उनले आफ्नै बारे व्याख्या गर्न समय लिए ।

dhamalakohamala with richa

Dhamalakohamala with Richa

प्रश्नको पहाड

उनले सोधेका प्रश्नहरू मध्ये केही यस्ता थिएः

  • आमालाई धेरै माया गर्नुहुन्च?
  • आमाछोरी बसेपछि के के कुरा हुन्छ?
  • आमाको कुन गुण मन पर्छ?

यस्ता पुरै व्यक्तिगत प्रश्नको कार्यक्रम र दर्शकसँग के सम्बन्ध रहन्छ । फेरि आम दर्शक र ऋचाका फ्यानहरूलाई पनि यसबारे खासै चासो होला भन्ने लाग्दैन ।

धमलाले त्यसपछि चलचित्र क्षेत्रलाई नै बद्नाम हुने गरी र ऋचाको चरित्रमा पनि आँच आउने गरी बारम्बार असम्बन्धित प्रश्नहरू सोध्ने र प्रतिक्रिया दिइरहेः

  • तपाई पनि चलचित्र क्षेत्रबाट बद्नाम हुन चाहनुहुन्छ?
  • नेपाली नायिका राम्रोभन्दा नराम्रो किसिमले चिनिन चाहन्छन्, कन्ट्रोभर्सीमा पर्न चाहने धेरै छन् ।
  • तपाई पनि कन्ट्रोभर्सीमा पर्न चाहनुहुन्छ?
  • तपाईको नाम पनि धेरैसँग जोडिने गर्छ?
  • त्यसोभए तपाईले पनि धेरैसँग लभ गर्नुभएछ ।
  • नेपाली चलचित्रमा नेपालीपन, नेपालित्व नहुने गर्छ नि ।
  • नेपाली सिनेमा क्षेत्रमा समग्रमा राम्रा मान्छे छैनन्, खराब मान्छे छन् ।
  • धेरै जसो आफै पैसा लगानी गरी, निर्मातासँग रात बिताउने, निर्दशकसँग धुम्ने, सन्तुष्टि दिएर सफल हुने नायिका छन् नि ।

उनले समग्र चलचित्र क्षेत्रलाई नै आछेप लगाइ विशेषगरी नेपाली नायिकाविरूद्ध चारित्रिक लाञ्छना लगाउन तत्पर रहे । यसले हाल चलचित्र उद्योगसँग सम्बन्धित र चलचित्र क्षेत्रमै काम गर्न चाहनेहरूलाई नेपाली सिनेमा क्षेत्रबारे कस्तो नकारात्मक सन्देश दियो होला म सोच्न पनि चाहन्न । यसको विरूद्ध चलचित्र कलाकार संघले उनको विरूद्ध उजुरी गरे आश्चर्यचकित नभए हुन्छ । ऋचाले धमलालाई कुनै उदाहरण दिन आग्रह गर्दा धेरै छन् भनेर सबै नायिकामाथि त्यस्तो आरोप लगाए । बेड सिने दिने, समाज संस्कृतिमाथि धावा बोल्ने नायिकाहरू पनि छन् भनेर यसै प्रसङ्गमा धमला तर्क गर्छन् । कस्तो सिन खराब र संस्कृतिमाथि धावा बोल्ने हुन्छ भन्ने निर्णय गर्ने ‘नैतिक प्रहरी’ उनी नै हुन् की क्यारे।

सीमा पार

ऋचा र विनयको सम्बन्धबारे धमलाले सोधेको प्रश्नले त सबै सीमा नै पार गरिदिन्छ ।

  • त्यसो भए विनयजीसँग तपाई खुब घुम्नुभयो, रात पनि बिताउनुभयो?
  • तपाईहरूबीच विवाह भएन, तर अरू सबै कुरा भयो?
  • तपाईजस्तो बिउटी, ब्रेन भएकी नायिकाले यो पर्सनल कुरा खुलासा गरिदिनुपर्छ?
  • धोखा विनयजीबाट भएको हो?
  • (विनयसँग छुट्टीएपछि) तपाईको मन कस्तो भयो, तरङ्गित?
  • विनयजीलाई छोड्दा वहाँ रूनुभयो?

यस्तो अति व्यक्तिगत कुरामा चासो देखाएको देख्दा विश्वासै गर्न गाह्रो भयो । हलिउड, बलिउडमा पनि कलाकारहरूले आफ्नो सार्वजनिक जिवन र व्यक्तिगत जिवनको बिचको सीमालाई स्वीकार गर्न बारम्बार मिडियालाई आग्रह गरेको देखेकै छौँ । ऋचा नायिकामा मात्र नभए उनी एक महिला पनि भएको कसरी नजरअन्दाज गर्नसके धमलाले? हाम्रो जस्तो पुरातनवादी समाजमा मात्र हैन, उदार मानिएको पश्चिमी समाजमा समेत यस्ता प्रश्न अपाच्य हुन्छन् । धमलाको सोध्ने तरिकाले त झन् रन्थनाइदिन्छ । यस्तो प्रश्न सोधेर उनी खितितिति हाँस्छन् । विवाहपछि हुने कुरा भनेर उनले यौन सम्बन्ध बारे इङ्गित गर्न खोजेका थिए । यौन सम्बन्ध विवाहपछि नै हुनुपर्छ भन्ने निर्णय गर्ने अधिकार कसले दियो उनलाई । फेरि ऋचा र विनयबीच सेक्स भए/नभएको बारे उनको किन चासो! बुझ्न नसकिने कुरा । एक वयस्क व्यक्तिले अर्को वयस्क व्यक्तिसँग सहमतिमा सम्बन्ध राख्छ भने त्यसमा कसैको आपत्ति हुनु हुँदैन भन्ने मेरो विचार । उनी ऋचालाई बिउटी, ब्रेन भएकी नायिकाले यो खुलासा गर्नुपर्छ कार्यक्रममा भनी दबाब दिन्छन् । बिउटी, ब्रेन भएको सँग सेक्स सम्बन्धको के नाता ? मेरा नाथे मस्तिष्कले खुट्याउन सकेन । धमला ऋचालाई खुलासा गर्नुपर्छ भनी यसरी भन्छन् मानौं ऋचाले यस कार्यक्रममा सो खुलासा गर्ने भनी लिखित सहमति गरेर इन्टरभ्यू दिन आएकी हुन् । विनयजीलाई छोडेपछि अर्को केटा खोज्ने ? भनी धमलाले सोध्दा भने ऋचाले गतिलै जवाफ दिइन् । “केटाहरू आउँछन्, जान्छन् ।” पुरूषले धेरै महिलासँग सम्बन्ध राख्दा महान दृष्टिले हेर्ने र महिलाले धेरै पुरूषसँग सम्बन्ध राख्दा भने महिलालाई हेयको दृष्टिले गिराउने हाम्रो समाजलाई उनी चुनौती दिन्छिन् । अहिलेका नारीहरूको आत्मविश्वासको केही अंश देख्न पाए धमलाले ।

धमलामाथि नै हमला

कार्यक्रममा धमलाको पत्नीको भूमिका निभाउने कलाकार सिनमा आउँदा ऋचाले धमलाको नियत खराब रहेको भनी ठट्टा गर्दा धमला डिफेन्सिभ भएको हेर्न लायक थियो । साथै, ऋचाले धमलालाई नेताहरूको पछाडिमात्रै टीभीमा देखिने भन्दा “ऋषि धमला नेताको पछाडि मात्रै हैन, अगाडि पनि आउँछन्” भन्दै गर्व गर्छन् । धमला आफ्ना बायोडाटा थप्छन्, “म नेताहरूसँग वान-टु-वान साक्षात्कार, फेस टु फेस चलाउँछु ।” राष्ट्रियताको कुरा गर्ने जहिले टाइसुटमा आउने भनी ऋचाले आरोप लगाउँदा आफू प्रत्येक दिन रिपोर्टिङमा जानुपर्ने भएको गफ दिन्छन् धमला । रिपोर्टिङका लागि कुनै मिडियाले टाइसुट ड्रेसकोड लागु गरेको मलाई जानकारीमा छैन । हुन त धमलालाई म ‘सेलिब्रेटी पत्रकार’ ठान्छु । ठूला पत्रकारका ठूलै चाला होलान् ! धमलाको आत्मविश्वास भने ईष्या लाग्दो नै छ । जसको धेरै जसो समयमा उनी धेरै नै प्रस्तुत गर्छन् । अङ्ग्रेजीमा ओभर कन्फिडेन्ट भन्छन क्यारे! अहिले नयाँ नेपालीमा अजासु भन्छन् जस्तो लाग्छ । अति जान्ने सुन्ने । आफूले एक वर्षमा कुनै नेपाली चलचित्र नहेरेको सगौरव सुनाउँछन् उनी, ऋचाले प्रतिप्रश्न गर्दा । अन्तर्वार्ताको क्रममा ऋचालाई ‘चिप लुक्स’ को डोज पनि नियमित दिन्छन् धमलाले । यस्को डेमो रेखा थापा र प्रियंका कार्कीसँगको अन्तर्वार्तामा पनि देखेको हुँ ।

ऋचालाई सुझाव

ऋचाको दुईओटा चलचित्र हेरिसकेकोले ऋचालाई पनि केही सुझाव दिने आफ्नो अधिकार भएको ठान्दछु । जुनै तहको पत्रकार भए पनि कार्यक्रममा सोधिने प्रश्नहरूको कपि पहिले नै मागे आफूलाई पनि तयार हुन सहज हुन्थ्यो होला र आफ्नो काम र सम्बन्धित विषयबारे अन्तर्वार्ताकारको पनि कति ज्ञान रहेछ भन्ने पनि आँकलन गर्न सजिलो हुन्छ होला । ऋचालाई ‘तपाईको भिसा गर्ल त फलप् भयो निइइइ’ भनी सोध्दा फिल्म नै नहेर्नेले त्यस्तो प्रतिक्रिया दिन्दा मेरो भने कन्पारो तातेर आएको थियो । अन्य कलाकारहरूले पनि यस्तो कार्यक्रमहरूमा इन्टरभ्यूका लागि जाँदा सोही नीति अवलम्बन गर्दा राम्रो हुन्छ भन्ने लाग्छ ।

पितृसत्तात्मक समाजको चित्रण

कार्यक्रममा धमलाकी पत्नीका रूपमा प्रस्तुत हुने कलाकारलाई चुलोचौकीमै सीमित गर्ने गरी प्रस्तुत गरिएको छ । यसले विद्यमान नेपाली समाजको पित्तृसतात्मक चरित्रलाई थप बल दिनेप्रति कार्यक्रम सञ्चालकको रत्तिभर ध्यान गएको देखिएन । धमलाको मात्र हैन प्रसिद्ध भारतीय स्ट्यान्डअप कमेडियन कपिल शर्माले पनि आफ्नो कार्यक्रममा महिलाहरूको भूमिकालाई होच्याउने, हाँसोको पात्र बनाउने गर्नाले बारम्बार आलोचना हुने गरेको छ । हाम्रो समाजमा महिलाहरूविरूद्ध ‘जेन्डर स्टिरियोटाइप’ कसरी प्रयोग हुन्छ यो जान्नलाई यी कार्यक्रम हेर्दा हुन्छ ।

हुन त ऋषि धमलालाई केन्द्र पात्र बनाएर यत्रो ब्लग लेख्न जरूरी थियो र भन्ने जिज्ञासा आउला । तर उनले जसरी महिलाको मर्यादामा चोट पुग्ने गरी प्रश्नको वर्षा गरे त्यसले वर्षौंको महिला सशक्तिकरणको आन्दोलनलाई गिज्याइरहेको आभास भयो । यस्तो प्रवृत्तिलाई समाजले सहजरूपमा लिनु हुँदैन भनेरै विरोधस्वरूप केही शब्दहरू कोरेको (टाइपेको) हुँ ।

जुन आत्मविश्वासका र स्पिरिटका साथ ऋचाले उनको प्रश्नहरूको सामना र प्रतिप्रश्न गरिन् त्यसले उनीप्रति मेरो सम्मान झनै बढेको छ । ऋचा जस्तै कलाकारहरूको काँधमा नेपाली सिनेमाको बिडो थामिएकोले नै म नेपाली सिनेमाको भविष्य उज्ज्वल देख्दछु ।

Posted in Comment | Tagged , , , | Leave a comment

My Story2

Posted in Story | Tagged | Leave a comment

My Story1

Posted in Story | Tagged | Leave a comment