ऋचामाथि धमलाको हमलाबारे मेरो टिपण्णी

अन्तर्वार्ता लिएर अन्तर्वार्ता दिने व्यक्तिभन्दा बढी चर्चा कमाउने कार्यक्रम सञ्चालक र कार्यक्रम कुन हो भन्दा ऋषि धमला र ‘धमलाको हमला’ जवाफ आए अचम्म नमाने हुन्छ । हुन त केही पत्रकार, कार्यक्रम सञ्चालकहरू अन्तर्वार्ता दिने व्यक्तिलाई कडा प्रश्नहरू सोध्ने, जनताका सामु जवाफदेही हुनका लागि बाध्य बनाउने, नयाँ खुलासाहरू गर्न लगाउने लगायत कारणले दर्शकको मन जित्न सफल हुन्छन् । तर ऋषि धमला भने प्रायः जसो नकारात्मक चर्चामा आइरहने पात्र हुन् ।

देशभर मुलुकले प्रथम महिला राष्ट्रपति, सभामुख पाएकोमा खुशीयाली भइरहेकोमा सामाजिक सञ्जालमा भने ऋषि धमलाले कलाकार ऋचा शर्मालाई आफ्नो कार्यक्रममा अमर्यादित प्रश्नहरू बारम्बार तेर्‌स्याएको विषय भाइरल भैरहेको छ । यस्तै विषयमा धमलाको आलोचना पहिले पनि नभएको होइन । कलाकार रेखा थापा, प्रियंका कार्की, गायिका ज्योति मगर लगायतसँगको अन्तर्वार्तामा पनि छोटो कपडा लगाएको भनी प्रश्न सोधेकोमा उनी विवादमा आएका थिए । उनको प्रश्न सोधाइले महिलाले कति छोटोसम्म लुगा लगाउन हुने/नहुने निर्धारण गर्ने ‘मोरल पुलिस’ धमला नै हुन् भन्ने लाग्छ ।

उनको विवादमा आएका कार्यक्रम पहिले पनि हेर्ने प्रयास गरेको थिए । तर उनको प्रश्ने सोध्ने एकोहोरो शैली, बडी ल्याङ्वेज, अतिथिमाथि हाबी हुने शैली, पट्यारलाग्दो हसाइले पुरै कार्यक्रम हेरी सकाउने धैर्य ममा कहिले भएन । तर ऋचामाथि ऋषि आक्रामकरूपमा प्रस्तुत भै र्‌याखर्‌याख पारेको जानकारीमा आएपछि ‘के रहेछ भनी’ धैर्यको बाँध फुट्ने गरी कार्यक्रम पुरै हेरे । आखिर मलाई मनपर्ने नेपाली कलाकारमध्ये ऋचा एक जो हुन् ।

कार्यक्रमको अवधिभर यति उकुसमुकुस भयो कुरा गरी साध्यै छन् । यस्तो छटपटि त अहिलेसम्म कुनै कार्यक्रम हेर्दा भएको थिएन । कार्यक्रम हेरिसकेपछि सो छटपटीलाई निकास दिन यो ब्लग लेखेको छुँ ।

धमलाजीलाई राजनीतिसम्बन्धी रेडियोमा प्रसारण हुने टक शोको म पनि फ्यान हुँ । उनले नेताहरूलाई जवाफ दिने लगाउने शैलीसँग म प्रभावित छु । नेताहरूलाई उक्साएर जवाफ दिन बाध्य पार्ने हुँदा धेरै श्रोताहरूले उनको कार्यक्रम रूचाएका छन् । नेताहरूप्रति आम जनतामा वितृष्णा जागेर पनि त्यस्तो शैली मन पराएको हुन सक्छ । उहासँग मेरो व्यक्तिगत चिनजान छैन । राजनीतिक कार्यक्रम सञ्चालन गर्न योग्य भए पनि मनोरञ्जनात्मक कार्यक्रम चलाउन भने उनले छोडिदिए हुन्छ । मान्छे सबै कुरामा निपुण हुन सक्दैन भन्ने बुझेर यसलाई छोडिदिए सजिलो ।

अब कुरा गरौँ सो अन्तर्वार्ताको । अन्तर्वार्तालाई चार भागमा बाँड्ने हो भने दुई भागमा धमलाले ऋचालाई व्यक्तिगत प्रश्नको वाण लगातार प्रहार गरे । एक भागमा उनले ऋचाको चलचित्र र नेपाली सिनेमा जगतबारे कुराकानी गरे भने एक भाग उनले आफ्नै बारे व्याख्या गर्न समय लिए ।

dhamalakohamala with richa

Dhamalakohamala with Richa

प्रश्नको पहाड

उनले सोधेका प्रश्नहरू मध्ये केही यस्ता थिएः

  • आमालाई धेरै माया गर्नुहुन्च?
  • आमाछोरी बसेपछि के के कुरा हुन्छ?
  • आमाको कुन गुण मन पर्छ?

यस्ता पुरै व्यक्तिगत प्रश्नको कार्यक्रम र दर्शकसँग के सम्बन्ध रहन्छ । फेरि आम दर्शक र ऋचाका फ्यानहरूलाई पनि यसबारे खासै चासो होला भन्ने लाग्दैन ।

धमलाले त्यसपछि चलचित्र क्षेत्रलाई नै बद्नाम हुने गरी र ऋचाको चरित्रमा पनि आँच आउने गरी बारम्बार असम्बन्धित प्रश्नहरू सोध्ने र प्रतिक्रिया दिइरहेः

  • तपाई पनि चलचित्र क्षेत्रबाट बद्नाम हुन चाहनुहुन्छ?
  • नेपाली नायिका राम्रोभन्दा नराम्रो किसिमले चिनिन चाहन्छन्, कन्ट्रोभर्सीमा पर्न चाहने धेरै छन् ।
  • तपाई पनि कन्ट्रोभर्सीमा पर्न चाहनुहुन्छ?
  • तपाईको नाम पनि धेरैसँग जोडिने गर्छ?
  • त्यसोभए तपाईले पनि धेरैसँग लभ गर्नुभएछ ।
  • नेपाली चलचित्रमा नेपालीपन, नेपालित्व नहुने गर्छ नि ।
  • नेपाली सिनेमा क्षेत्रमा समग्रमा राम्रा मान्छे छैनन्, खराब मान्छे छन् ।
  • धेरै जसो आफै पैसा लगानी गरी, निर्मातासँग रात बिताउने, निर्दशकसँग धुम्ने, सन्तुष्टि दिएर सफल हुने नायिका छन् नि ।

उनले समग्र चलचित्र क्षेत्रलाई नै आछेप लगाइ विशेषगरी नेपाली नायिकाविरूद्ध चारित्रिक लाञ्छना लगाउन तत्पर रहे । यसले हाल चलचित्र उद्योगसँग सम्बन्धित र चलचित्र क्षेत्रमै काम गर्न चाहनेहरूलाई नेपाली सिनेमा क्षेत्रबारे कस्तो नकारात्मक सन्देश दियो होला म सोच्न पनि चाहन्न । यसको विरूद्ध चलचित्र कलाकार संघले उनको विरूद्ध उजुरी गरे आश्चर्यचकित नभए हुन्छ । ऋचाले धमलालाई कुनै उदाहरण दिन आग्रह गर्दा धेरै छन् भनेर सबै नायिकामाथि त्यस्तो आरोप लगाए । बेड सिने दिने, समाज संस्कृतिमाथि धावा बोल्ने नायिकाहरू पनि छन् भनेर यसै प्रसङ्गमा धमला तर्क गर्छन् । कस्तो सिन खराब र संस्कृतिमाथि धावा बोल्ने हुन्छ भन्ने निर्णय गर्ने ‘नैतिक प्रहरी’ उनी नै हुन् की क्यारे।

सीमा पार

ऋचा र विनयको सम्बन्धबारे धमलाले सोधेको प्रश्नले त सबै सीमा नै पार गरिदिन्छ ।

  • त्यसो भए विनयजीसँग तपाई खुब घुम्नुभयो, रात पनि बिताउनुभयो?
  • तपाईहरूबीच विवाह भएन, तर अरू सबै कुरा भयो?
  • तपाईजस्तो बिउटी, ब्रेन भएकी नायिकाले यो पर्सनल कुरा खुलासा गरिदिनुपर्छ?
  • धोखा विनयजीबाट भएको हो?
  • (विनयसँग छुट्टीएपछि) तपाईको मन कस्तो भयो, तरङ्गित?
  • विनयजीलाई छोड्दा वहाँ रूनुभयो?

यस्तो अति व्यक्तिगत कुरामा चासो देखाएको देख्दा विश्वासै गर्न गाह्रो भयो । हलिउड, बलिउडमा पनि कलाकारहरूले आफ्नो सार्वजनिक जिवन र व्यक्तिगत जिवनको बिचको सीमालाई स्वीकार गर्न बारम्बार मिडियालाई आग्रह गरेको देखेकै छौँ । ऋचा नायिकामा मात्र नभए उनी एक महिला पनि भएको कसरी नजरअन्दाज गर्नसके धमलाले? हाम्रो जस्तो पुरातनवादी समाजमा मात्र हैन, उदार मानिएको पश्चिमी समाजमा समेत यस्ता प्रश्न अपाच्य हुन्छन् । धमलाको सोध्ने तरिकाले त झन् रन्थनाइदिन्छ । यस्तो प्रश्न सोधेर उनी खितितिति हाँस्छन् । विवाहपछि हुने कुरा भनेर उनले यौन सम्बन्ध बारे इङ्गित गर्न खोजेका थिए । यौन सम्बन्ध विवाहपछि नै हुनुपर्छ भन्ने निर्णय गर्ने अधिकार कसले दियो उनलाई । फेरि ऋचा र विनयबीच सेक्स भए/नभएको बारे उनको किन चासो! बुझ्न नसकिने कुरा । एक वयस्क व्यक्तिले अर्को वयस्क व्यक्तिसँग सहमतिमा सम्बन्ध राख्छ भने त्यसमा कसैको आपत्ति हुनु हुँदैन भन्ने मेरो विचार । उनी ऋचालाई बिउटी, ब्रेन भएकी नायिकाले यो खुलासा गर्नुपर्छ कार्यक्रममा भनी दबाब दिन्छन् । बिउटी, ब्रेन भएको सँग सेक्स सम्बन्धको के नाता ? मेरा नाथे मस्तिष्कले खुट्याउन सकेन । धमला ऋचालाई खुलासा गर्नुपर्छ भनी यसरी भन्छन् मानौं ऋचाले यस कार्यक्रममा सो खुलासा गर्ने भनी लिखित सहमति गरेर इन्टरभ्यू दिन आएकी हुन् । विनयजीलाई छोडेपछि अर्को केटा खोज्ने ? भनी धमलाले सोध्दा भने ऋचाले गतिलै जवाफ दिइन् । “केटाहरू आउँछन्, जान्छन् ।” पुरूषले धेरै महिलासँग सम्बन्ध राख्दा महान दृष्टिले हेर्ने र महिलाले धेरै पुरूषसँग सम्बन्ध राख्दा भने महिलालाई हेयको दृष्टिले गिराउने हाम्रो समाजलाई उनी चुनौती दिन्छिन् । अहिलेका नारीहरूको आत्मविश्वासको केही अंश देख्न पाए धमलाले ।

धमलामाथि नै हमला

कार्यक्रममा धमलाको पत्नीको भूमिका निभाउने कलाकार सिनमा आउँदा ऋचाले धमलाको नियत खराब रहेको भनी ठट्टा गर्दा धमला डिफेन्सिभ भएको हेर्न लायक थियो । साथै, ऋचाले धमलालाई नेताहरूको पछाडिमात्रै टीभीमा देखिने भन्दा “ऋषि धमला नेताको पछाडि मात्रै हैन, अगाडि पनि आउँछन्” भन्दै गर्व गर्छन् । धमला आफ्ना बायोडाटा थप्छन्, “म नेताहरूसँग वान-टु-वान साक्षात्कार, फेस टु फेस चलाउँछु ।” राष्ट्रियताको कुरा गर्ने जहिले टाइसुटमा आउने भनी ऋचाले आरोप लगाउँदा आफू प्रत्येक दिन रिपोर्टिङमा जानुपर्ने भएको गफ दिन्छन् धमला । रिपोर्टिङका लागि कुनै मिडियाले टाइसुट ड्रेसकोड लागु गरेको मलाई जानकारीमा छैन । हुन त धमलालाई म ‘सेलिब्रेटी पत्रकार’ ठान्छु । ठूला पत्रकारका ठूलै चाला होलान् ! धमलाको आत्मविश्वास भने ईष्या लाग्दो नै छ । जसको धेरै जसो समयमा उनी धेरै नै प्रस्तुत गर्छन् । अङ्ग्रेजीमा ओभर कन्फिडेन्ट भन्छन क्यारे! अहिले नयाँ नेपालीमा अजासु भन्छन् जस्तो लाग्छ । अति जान्ने सुन्ने । आफूले एक वर्षमा कुनै नेपाली चलचित्र नहेरेको सगौरव सुनाउँछन् उनी, ऋचाले प्रतिप्रश्न गर्दा । अन्तर्वार्ताको क्रममा ऋचालाई ‘चिप लुक्स’ को डोज पनि नियमित दिन्छन् धमलाले । यस्को डेमो रेखा थापा र प्रियंका कार्कीसँगको अन्तर्वार्तामा पनि देखेको हुँ ।

ऋचालाई सुझाव

ऋचाको दुईओटा चलचित्र हेरिसकेकोले ऋचालाई पनि केही सुझाव दिने आफ्नो अधिकार भएको ठान्दछु । जुनै तहको पत्रकार भए पनि कार्यक्रममा सोधिने प्रश्नहरूको कपि पहिले नै मागे आफूलाई पनि तयार हुन सहज हुन्थ्यो होला र आफ्नो काम र सम्बन्धित विषयबारे अन्तर्वार्ताकारको पनि कति ज्ञान रहेछ भन्ने पनि आँकलन गर्न सजिलो हुन्छ होला । ऋचालाई ‘तपाईको भिसा गर्ल त फलप् भयो निइइइ’ भनी सोध्दा फिल्म नै नहेर्नेले त्यस्तो प्रतिक्रिया दिन्दा मेरो भने कन्पारो तातेर आएको थियो । अन्य कलाकारहरूले पनि यस्तो कार्यक्रमहरूमा इन्टरभ्यूका लागि जाँदा सोही नीति अवलम्बन गर्दा राम्रो हुन्छ भन्ने लाग्छ ।

पितृसत्तात्मक समाजको चित्रण

कार्यक्रममा धमलाकी पत्नीका रूपमा प्रस्तुत हुने कलाकारलाई चुलोचौकीमै सीमित गर्ने गरी प्रस्तुत गरिएको छ । यसले विद्यमान नेपाली समाजको पित्तृसतात्मक चरित्रलाई थप बल दिनेप्रति कार्यक्रम सञ्चालकको रत्तिभर ध्यान गएको देखिएन । धमलाको मात्र हैन प्रसिद्ध भारतीय स्ट्यान्डअप कमेडियन कपिल शर्माले पनि आफ्नो कार्यक्रममा महिलाहरूको भूमिकालाई होच्याउने, हाँसोको पात्र बनाउने गर्नाले बारम्बार आलोचना हुने गरेको छ । हाम्रो समाजमा महिलाहरूविरूद्ध ‘जेन्डर स्टिरियोटाइप’ कसरी प्रयोग हुन्छ यो जान्नलाई यी कार्यक्रम हेर्दा हुन्छ ।

हुन त ऋषि धमलालाई केन्द्र पात्र बनाएर यत्रो ब्लग लेख्न जरूरी थियो र भन्ने जिज्ञासा आउला । तर उनले जसरी महिलाको मर्यादामा चोट पुग्ने गरी प्रश्नको वर्षा गरे त्यसले वर्षौंको महिला सशक्तिकरणको आन्दोलनलाई गिज्याइरहेको आभास भयो । यस्तो प्रवृत्तिलाई समाजले सहजरूपमा लिनु हुँदैन भनेरै विरोधस्वरूप केही शब्दहरू कोरेको (टाइपेको) हुँ ।

जुन आत्मविश्वासका र स्पिरिटका साथ ऋचाले उनको प्रश्नहरूको सामना र प्रतिप्रश्न गरिन् त्यसले उनीप्रति मेरो सम्मान झनै बढेको छ । ऋचा जस्तै कलाकारहरूको काँधमा नेपाली सिनेमाको बिडो थामिएकोले नै म नेपाली सिनेमाको भविष्य उज्ज्वल देख्दछु ।

About Neer

Traveling, trekking, reading, watching movies are what I mostly do. Looking forward to add writing to this list!
This entry was posted in Comment and tagged , , , . Bookmark the permalink.

Leave a comment